वडा कार्यालयका सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण सम्पन्न गर्छौैँः मेयर शाक्य



Published Date:2021-07-26

वडा २१ कार्यालय भवन शिलान्यास ः २ करोड ६ लाख ९० हजार लागत

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा २१ कार्यालय भवन शिलान्यास गर्नुभएको छ । वडा २१ भित्री सहर हो । लगनटोल यस वडाको परिचित ठाउँ हो ।
शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले, आफ्नै कार्यकालमा सबै वडा कार्यालय भवनको नवनिर्माण र पुननिर्माण गरिसक्ने योजनामा आफू प्रतिवद्ध रहेको बताउनुभयो । ‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौँ ।’ शाक्यले भन्नुभयो, ‘वडा–२१ को वडा भवनको आज शिलान्यास गरेका छौँ । यो हाम्रो घोषणा अनुसारकै कार्य हो । यस अघि वडा ३, ४, ९, १४, १८ र २६ वडाको नयाँ भवनबाट कार्यालय सञ्चालनमा आइसकेको छ । केही कार्यालय भवनको निर्माण कार्य जारी छ । केही वडा कार्यालय निर्माण पक्ष छनौट खरिद प्रक्रियाबाट अघि बढेको छ ।’ उहाँले भन्नुभयो, ‘वडा–१२ को केही दिनमै शिलान्यास गर्दै छौँ । केही वडा कार्यालय भवन निर्माणका र केही कार्यालय भवन खरिद गर्न कानुनी र प्राविधिक समस्याका कारण प्रक्रिया अघि बढ्न सकेको छैन । मुद्दा परेका कारण हामीले महानगरपालिकाको केन्द्रीय कार्यालय भवन अहिलेसम्म निर्माण गर्न सकेनौँ । हामीले निर्वाचनका बेला प्रतिवद्धता व्यक्त गरेका धेरै काम सम्पन्न गरेका छौँ । केही काम भने कानुनी र प्राविधिक कारणले समस्या भएको हो ।’
काठमाडौँ महानगरपालिकामा फरक–फरक विचारधारा राख्ने जनप्रतिनिधि निर्वाचित भएर आएका भए पनि आफ्नो कार्यकालमा कार्यपालिका र नगरसभाका सबै निर्णय सर्वसम्मतिमा अघि बढाउन सफल भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । ‘पूर्वाधार थपिदैँ र जनसंख्या बढ्दै गएपछि पहिला निर्माण भएका वडा भवनबाट सेवा प्रवाह गर्न असजिलो हुने भएकाले हामीले वडा कार्यालय भवन पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएका हौ । खरिद प्रक्रियामा रहेका काम सम्पन्न भएपछि कामको प्रगति धेरै देखिन्छ ।’
आफूले जिम्मेवारी सम्हाल्नु अघिसम्म अधिकांश वडा भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या थियो । यसकारण हामीले सबै वडालाई समयानुकुल विकास गर्दै लैजाने योजनाअनुसार काम गरेका हौँ । यसरी संरचना बनाउँदा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेका छौँ । शाक्यले थप्दै भन्नुभयो, ‘म आफ्नै कार्यकालमा सबै वडा कार्यालय भवन पुननिर्माण र नवनिर्माण गर्न चाहन्छु ।’
महानगरपालिकाका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार वडा २, ६, १२, २०, २२, २९ र ३१ निर्माण प्रक्रियामा छन् । वडा १२ र १६ को खरिद प्रक्रियाबाट अघि बढेका छ । अन्य वडा भवनको स्तरोन्नति गर्नेलगायतका काम भइरहेका छन् ।
इञ्जिनियर श्रेष्ठकाअनुसार वडा २१ को भवन भूकम्प प्रतिरोधी हुनेछ ६ तलाको भवनको जमिन तला वडा कार्यालयका लागि प्रयोग हुनेछ । पहिलो तला गुठीका लागि प्रयोग हुने छ । बाँकी अरु तलामा पनि वडा कार्यालयकै रुपमा प्रयोग हुनेछन् । भवनको पाँचौ तलामा ५० जना क्षमताको सभा कक्ष हुनेछ । भवन डिजाइन गर्दा अपाङ्गता भएका र जेष्ठ नागरिकको पहुँचलाई ध्यान दिइएको छ । यसका लागि भवनमा लिफ्टको व्यवस्था गरिएको छ । भवन निर्माणका लागि २ करोड ६ लाख ९० हजार रुपैयाामा कार्यादेश दिइएको हो । निर्माण कार्य २०७८ चैत २० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
शिलान्यास कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डा. अजयक्रान्ति शाक्य, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यसहित छिमकी वडाका वडाध्यक्षहरुको उपस्थिति थियो ।

Related Posts

परिवार दल निकट पिस फोर्सको बिशेष भेला काठमाडौँमा सम्पन्न
काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेशनको संघारमा रहेको नेपाल परिवार दलको भातृ संगठन पिस फोर्सको बिशेष भेला काठमाडौँमा सम्पन्न भएको छ । नेपाल परिवार ...
बिश्व शान्तिको लागी कदमः कोरियाली प्रायद्वीपको मेलमिलाप र सहकार्यमा केन्द्रित
थिंक ट्यांक २०२२ ¥याली अफ होप कार्यक्रम सम्पन्न राष्ट्र आर्थिक र आत्मिक दुबै रुपमा बलियो हुनुपर्छ ः अमेरीकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प कोरियाल...
निको भएका बिरामीमा पोस्ट कोभिड, देखिन्छन् यस्ता लक्षणहरु
कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो ...