सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक



Published Date:2021-07-17

सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ ।

केपी ओली नेतृत्वको सरकारमा रहनु भएका तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट असार २७ गते अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर वृद्धि गर्ने निर्णय गरिएको थियो ।

जाँदाजाँदै सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियो । सोही आधारमा यातायात व्यवस्था विभागले आज नयाँ भाडादर सार्वजनिक गरेको हो ।

जसमा सबैभन्दा धेरै काठमाडौंदेखि बाजुरा सदरमुकाम मार्तडीसम्म पाँच सय ७६ रुपैयाँ भाडा बढेको छ । मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको छ । सार्वजनिक भएको सूचीअनुसार काठमाडौं-अत्तरीया-मार्तडी रुटमा सबैभन्दा धेरै ५७६ रुपैयाँ भाडा बढेको छ ।

सरकारले २०६५ सालमा बनाएको वैज्ञानिक भाडा समायोजनको नियमअनुसार इन्धनको मूल्यलाई ३५ र पार्टपूर्जा सहितका अन्य खर्चलाई ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

२०६९ सालपछि भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ सालदेखि याथावत राखी इन्धनलाई मात्र आधार मानी भाडा समायोजन गरिँदै आएको थियो । २०७५ मा पनि बजारको अध्ययनबाट नगरी समग्रमा १० प्रतिशत भाडावृद्धि गरी समायोजन गरिएको थियो । विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेकोले वैज्ञानिक भाडादर भने लागू हुन सकेको अवस्था थिएन ।

अन्तरप्रदेश चल्ने सवारीको भाडा समायोजन भए पनि स्थानयि स्तरमा चल्ने सार्वजनिक सवारीको हकमा भने विभागले सम्बन्धित प्रदेश र स्थानीय तहले नै निर्णय लिनुपर्ने बताएको छ ।

प्रदेशभित्रका एउटा स्थानीय तहबाट अर्कोमा र एउटा जिल्लाबाट अर्कोमा चल्ने सवारीको हकमा प्रदेश सरकारले नै र स्थानीय तहभित्र सम्बन्धित स्थानीय सरकारले नै भाडा समायोजन गर्नुपर्ने हुन्छ ।

Related Posts

वडा कार्यालयका सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण सम्पन्न गर्छौैँः मेयर शाक्य
वडा २१ कार्यालय भवन शिलान्यास ः २ करोड ६ लाख ९० हजार लागत काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा २१ कार्यालय भवन शिलान्यास...
थपिए ३,४२१ जना कोरोना संक्रमित, २५ जनाको मृत्यु
केहिंदिन यता कोरोना संक्रमितको सख्यामा ओरालो लागेको आज एकै दिन ३ हजार ४२१ जनामा कोरोना संक्रमण दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १२ हजार...
लामो दूरीका सवारीसाधन चल्ने
काठमाण्डौ । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको...