कोभिड १९ महामारीमा महिलाहरुको मानसिक स्वास्थ्य समस्या र समाधानका उपाय



Published Date:2021-01-13

कमला पौडेल


कोभिड १९ महामारीले विश्वका सबै अर्थतन्त्रलाई अस्तव्यस्त वनाइरहँदा मानिसको सामाजिक तथा मानसिक जीवनमा यसको प्रभाव अझै बढी परिरहेको छ । विभिन्न देशका सरकारले लगाएको लकडाउनको कारण लाखौ मानिसले रोजगारी तथा व्यवसाय गुमाउन पुगेका छन् फलस्वरुप ती मानिसको जीवन शैलीमा जवर्जस्ती परिवर्तन गर्नुपरेको छ । यसको कारण उनिहरुको मानसिक स्वास्थ्य सम्बन्धित समस्याहरु देखा परिरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ९३ प्रतिशत देशमा यो महामारीका कारण मानसिक स्वास्थ्य सेवा अवरुद्ध भएका छन् । नेपाल यसमा अछुतो रहने कुरै भएन । विभिन्न अनुसन्धानका अनुसार पुरुषको तुलनामा महिलामा यो समस्या दोब्बरभन्दा पनि बढी पाइएको छ साथै सन् २०३० सम्ममा हरेक घरमा निराशाका विरामी देखा पर्ने प्रक्षेपण पनि विश्व स्वास्थ्य संगठनले गरेको छ ।
कोभिड १९ महामारीका कारण नेपालका अधिकांश अस्पतालमा महिला स्वास्थ्य सम्वन्धित सुविधाहरुमा अवरुद्ध भएका छन् भने अर्कोतिर घरायसी हिंसा पनि बढेको छ जसको प्रत्यक्ष असर महिलाको मानसिक स्वास्थ्यमा परेको देखिन्छ । घर परिवारको रेखदेखको जिम्मेवारी थपिएर स्वविवेकले होस् वा परिवारको दवावमा होस् वा रोजगारदाताले महिला कर्मचारीलाई कामबाट निकाल्ने पहिलो रोजाइका कारणले होस्, रोजगारी गुमाउनेमा पनि महिलाको संख्या अधिक देखिन्छ । स्कुल कलेजहरु नखुलेपछि बालबच्चाको रेखदेखको थप जिम्मेवारी पनि सम्पूर्ण रुपमा महिलामा नै परेको छ । यस्ले उनिहरुलाई बाहिर गएर काम गर्न, आफ्नो ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्नबाट वन्चित भएका छन् । यी सबै कारणले उनीहरु चिन्ता ,निराशा , डरआदिको सिकार बन्न पुगेका छन् । यसबाट तत्कालिन तथा दीर्घकालिन मानसिक समस्या थपिँदै जाने निश्चित छ । महिलाको मानसिक असन्तुलनबाट घर, समाज तथा सम्पूर्ण देशलाई नै दीर्घकालिन असर पुग्नेछ तर कुनै पनि निकायको यसतर्फ ध्यान पुगेको ठोस प्रमाण भने देखिदैँन् ।
यस्तो विषम परिस्थितीमा अरुको भरमा पर्नुभन्दा महिला आफै मानसिक असन्तुलनमा नपर्ने तथा कुनै समस्या परिसकेको भए जतिसक्दो छिटो ति समस्याबाट बाहिर निस्कनका निम्ति प्रयास गर्नु अत्यावश्यक देखिन्छ । यस लेखमार्फत महिलाहरु विभिन्न किसिमका मानसिक समस्याबाट बाहिर आउन ध्यान दिनु पर्ने कुरा उल्लेख गरिएको छ ।
क. आफूलाई पहिलो प्राथमिकतामा राख्नुहोस् । यो सामान्यतया अनौठो लाग्न सक्दछ तर सोच्नुपर्ने कुरा के छ भने जब तपाई आफुलाई महत्व दिनुहुन्छ, माया गर्न जान्नुहुन्छ, स्वस्थ हुनुहुन्छ तवमात्र अरुलाई माया दिन र अन्य सदस्यको ख्याल राख्न सक्नुहुन्छ ।
ख. आफूलाई सहयोग गर्ने, उत्प्रेरणा दिने खालका समूहमा सहभागी हुनुहोस् । अरुलाई पनि सहयोग गर्न अग्रसर हुनुहोस् । यदि यहाँले अरुलाई सहयोग गर्न सक्नुभयो भने यहाँले धेरै कुरा सिक्ने तथा आफूलाई व्यस्त राख्ने अवसर पाउनुहुन्छ र अनावश्यक सोँचको सिकार हुनुपर्दैन् ।
ग. ध्यान, प्राणायाम र शारीरिक व्यायामको लागी निश्चित समय निकाल्नुहोस् । ध्यान र प्राणायामले एकाग्र बन्न सहयोग गर्दछ । साथै आफ्नो उमेर अनुसारको शारीरिक व्यायामले यहाँको रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ । उमेर र स्वास्थ्य अनुसार कम्तिमा पनि ७ वा ८ घण्टा सुत्नुहोस् ।
घ. अनावश्यक कुरा गर्ने, नकारात्मक सोच भएका र तपाईलाई होच्चाउने खालका मानिसको संगतबाट टाढा रहने प्रयास गर्नुहोस् ।
ङ. माया, प्रेम, सद्भाव र करुणा बाड्नुहोस । साथै आफुले जानेका, सिकेका राम्रा कुरा अरुलाई पनि सिकाउनुहोस् ।
च. प्रशस्त मात्रामा पानी पिउनुहोस र आहार विहारमा पनि ध्यान दिनुहोस् । आफुलाई हर बखत व्यस्त अनि मस्त राख्नुहोस् ।
छ. आफ्ना कामको प्राथमिकता पहिचान गरेर वर्गीकरण गर्नुहोस् । प्राथमिकताका आधारमा एक एक गरेर पुरा गर्नुहोस् । अनावश्यक कार्यको बोझले अनावश्यक तनाव सिर्जना हुन सक्दछ ।
ज. सानातिना उपलब्धिमा पनि रमाउन सिक्नुहोस् । आफुलाई जे गर्दा खुशी मिल्छ त्यो कुरालाई प्राथमिकतामा राखेर सम्पन्न गर्नुहोस् । आफुसँग जे छ त्यसमा खुशी हुने प्रयत्न गर्नुहोस् ।
झ. जस्तो सुकै परिस्थितिमा पनि आफुलाई सहज राख्न सिक्नुहोस् । कसैले यहाँलाई कुनै तरिकाले सहयोग गरेका छन् भने त्यसको लागि कृतज्ञता जाहेर गर्न नचुक्नुहोस् ।
ञ. यदि आफूलाई कुनै प्रकारको मानसिक समस्या परिरहेको छ भने नजिकको परामर्शदाता व्यक्ति, वा मनोचिकित्सकको सल्लाह लिन ढिला नगर्नुहोस् ।

Related Posts

राजनीतिक दल तथा नागरिकहरुका बीच तिब्र ध्रुविकरण भएको प्रति परिवार दलद्धारा चिन्ता ब्यक्त
सर्बोच्चको फैसला नेपालको संबिधान र शाशकिय प्रणाली अनुरुप आउछ : अध्यक्ष ढकाल काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्र...
अनलाइनको मुद्दामा संचार मन्त्रालयलाई छलफलका लागि बोलाउने सर्बोच्चको आदेश
काठमाडौंअनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्नु पर्ने प्रावधानको विरुद्ध दर्ता भएको रिटमाथि सुनुवाइ गर्दै सर्बोच्च अदालतले शुक्रबार कारण देखाउ आद...
संसद् विघटनविरुद्धको मुद्दाः फैसला आउन कम्तिमा फागुनको पहिला साता लाग्ने अनुमान
सरकारले प्रतिनिधिसभा विघटन गरेपछि सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा विभिन्न १२ वटा रिट निवेदन दायर भए। र अहिले सर्वोच्चको संवैधानिक इजलासमा बहस जार...